सडक मानवमुक्त अभियान : स्वयम्भू क्षेत्रबाट थप तीन जनाको उद्धार

काठमाडौँ,  वैशाख ७ । काठमाडौँ महानगरपालिकाले सडक सहयोगापेक्षी मानवमुक्त शहर बनाउने अभियान अन्तर्गत स्वयम्भू क्षेत्रबाट तीन जना बेसहारा व्यक्तिहरूको उद्धार गरेको छ । नेपाल प्रहरी र मानव सेवा आश्रमसँगको सहकार्यमा महानगरले सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार कार्यलाई तीव्रता दिएको हो ।

उद्धार गरिएका व्यक्तिहरूलाई तत्कालका लागि मानव सेवा आश्रममा पठाइएको छ । उद्धार हुनेहरूमा लमजुङ घर भएका ७० वर्षीय वृद्ध र ठेगाना नखुलेकी ४४ वर्षीया महिला रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्यस्तै, नुवाकोट घर भएका ५५ वर्षीय एक पुरुषको पनि उद्धार गरिएको छ, जसको हातमा चोट लागेकाले उपचारको प्रबन्ध मिलाइएको छ ।

पेशागत माग्नेहरूको चुनौती
महानगरका अनुसार उद्धार कार्यका क्रममा कतिपय व्यक्तिहरू उद्धार टोलीलाई छलेर भाग्ने गरेका छन् । माग्ने कार्यलाई नै पेशा बनाएका कारण उनीहरू आश्रममा जान अनिच्छुक देखिएका हुन् । वास्तविक सहयोगापेक्षीहरूको व्यवस्थापन गर्ने लक्ष्य राखिए पनि पेशागत रूपमा माग्नेहरूले अभियानमा चुनौती थपेको महानगरको बुझाइ छ ।

व्यवस्थापन प्रक्रिया
सार्वजनिक चोक, पार्क, र सम्पदा स्थलहरूमा माग्दै हिँड्ने व्यक्तिहरूलाई व्यवस्थित र मर्यादित जीवन प्रदान गर्नु यस अभियानको मुख्य उद्देश्य हो । उद्धार गरिएका व्यक्तिहरूको अवस्थाका आधारमा स्वास्थ्य परीक्षण र ‘स्क्रिनिङ’ गरिनेछ । त्यसपश्चात् उनीहरूलाई पारिवारिक पुनर्मिलन गराउने वा परिवार नभएकाहरूको हकमा आश्रममा आश्रय प्रदान गरी पुनःस्थापना गरिने कार्यविधि रहेको छ ।

महानगरले यसअघि पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट २ जना र टेकु क्षेत्रबाट १ जना बेसहारा व्यक्तिको उद्धार गरिसकेको छ । सडकमा कोही पनि व्यक्ति मागेर बस्नु नपर्ने अवस्था सिर्जना गर्न काठमाडौँ महानगरपालिकाले यो अभियानलाई निरन्तरता दिने बताएको छ ।