नर्दन टोरिटोरी स्ट्राइकरसँग नेपालको हार
काठमाडौँ, ३० साउन । टप एन्ड ट्वान्टी२० शृङ्खलाको पहिलो खेलमा नेपाल शुक्रबार घरेलु टिम नर्दन टोरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा पहिले ब्याटिङ गरेको नर्दन टोरिटोरीले अस्ट्रेलियाका अन्तर्राष्ट्रिय खेलार्डी डार्सी शर्टको अर्धशतकको सहयोगमा निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । नेपालले जवाफमा आठ विकेटको क्षतिमा १३५ रनमात्र बनाउनसक्यो ।
नेपालले लक्ष्य पछ्याउने क्रममा पावर प्लेमा मात्र २५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । यसैगरी गुलसन झाले २६, रोहित पौडेलले २३, दिपेन्द्रसिंह ऐरीले १९ र आसिफ शेखले ११ रनको पालि खेले । घरेलु टिमका लागि हामिन्डले तीन, केन रिचर्डसन र एन्ड्रयुले दुई÷दुई तथा हासिम मार्टिनले एक विकेट लिए ।
नर्दर्न टेरिटोरीका लागि शर्टले सात चौका र एक छक्कासहित ३४ बलमा सर्वाधक ५१ रन बनाए । शर्ट लेग स्पीनर सन्दीप लामिछानेको बलिङमा लगातार चार चौका प्रहार गरेपछि बोल्ड भए । यसैगरी टम एन्ड्रयुले २६ बलमा दुई चौका र एक छक्कासहित अविजित ३२ रनको पालि खेले ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । यसैगरी अन्तिम समयमा टिममा परेका स्पीनर शाहब आलमले दुई विकेट हासिल गरे । दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र कप्तान रोहितकुमार पौडेलले पनि एक÷एक विकेट लिएर विकेटकर्ताको सूचीमा आआफ्नो नाम लेखाए ।