नेप्सेमा सामान्य सुधार, कारोबार रकममा गिरावट

काठमाडौं, २ भदाै । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिनको गिरावटलाई उल्ट्याउँदै आज नेप्से ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा बन्द भएको हो।

यद्यपि, परिसूचक सकारात्मक रहे पनि कारोबार रकममा भने संकुचन आएको छ। आइतबार ७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३२० कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा ६ अर्ब १७ करोड रुपैयाँमा सीमित भयो। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबै सूचकमा सामान्य वृद्धि देखिएको छ।

आजको बजारमा जलविद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए। युनियन हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ६.१० प्रतिशतले बढ्यो भने अप्पर साङ्गे हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको मूल्यमा पनि क्रमशः करिब ६ प्रतिशत र साढे ५ प्रतिशतको उछाल आयो। यता, सम्पदा लघुवित्तका लगानीकर्ताले भने सर्वाधिक ४.८१ प्रतिशत गुमाए।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी, बुटवल पावर कम्पनीको २१ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको साढे १८ करोडभन्दा बढीको सेयर किनबेच भयो।

क्षेत्रगत रूपमा, कुल १३ उपसमूहमध्ये ११ वटाको सूचक हरियो रहँदा २ वटाको भने रातो रह्यो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले बढ्यो भने म्युचुअल फन्ड र अन्य उपसमूहको सूचकमा गिरावट देखियो।