नेप्सेको सुस्त यात्रा जारी, परिसूचक हरियो रहँदा लगानीकर्ता भने ‘पर्ख र हेर’ को अवस्थामा
काठमाडौँ, ३ भदाै । शेयर बजारमा नेप्से परिसूचकले मंगलबार पनि झिनो अंकको वृद्धिलाई निरन्तरता दिएको छ, तर घटेको कारोबार रकमले बजारमा लगानीकर्ताहरूको उत्साह भने केही खुम्चिएको संकेत गरेको छ ।
अघिल्लो दिनको तुलनामा करिब ५४ करोड रुपैयाँले कारोबार रकम घट्दै ५ अर्ब ६३ करोडमा झर्नुले बजारमा ठूलो लगानी भित्र्याउन लगानीकर्ताहरू हच्किएको देखिन्छ ।
नेप्से ९.७६ अंकले बढेर २७८० को विन्दुमा पुग्दा अधिकांश उपसमूहहरू हरियो देखिए पनि वृद्धिदर भने १ प्रतिशतभन्दा कम रह्यो, जसले बजारमा उत्साहजनक खरिद चाप नभएको प्रष्ट पार्छ ।
आजको बजारमा साना ऊर्जा कम्पनीहरूले लगानीकर्तालाई आकर्षित गरे । सान्भि इनर्जी र पियोर इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढ्यो । अर्कोतर्फ, नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाउन पुगे ।
युनाइटेड मोदी सर्वाधिक रकमको कारोबार गर्ने कम्पनी बने पनि यसको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ, जसले यसमा ‘प्रोफिट बुकिंग’ भएको अनुमान लगाउन सकिन्छ ।