गुरुङ भाषा संरक्षण अभियान घरबाटै सुरु गर्नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, ४ भदाै । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुने खतरामा रहेको भन्दै यसको संरक्षण र पुस्तान्तरणको अभियान हरेक घरबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गुरुङ भाषाको पत्रिका ‘तमू कए’ को विमोचन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति संकटमा परेको बताउनुभयो।

उहाँले प्रतिष्ठानले पत्रिका प्रकाशन गर्नु ऐतिहासिक भए पनि भाषालाई जीवन्त राख्ने मुख्य आधार परिवार र समुदाय नै भएको स्पष्ट पार्नुभयो।

मन्त्री गुरुङले संघीयताले दिएको समावेशी अवसरलाई गुरुङ समुदायले पूर्ण रूपमा उपयोग गरी राज्यको मूलधारमा आउनुपर्ने सुझाव पनि दिनुभयो।