रेमिट्यान्सले रच्यो इतिहास : विप्रेषण १९.२ प्रतिशतले बढ्याे

काठमाडौँ, ८ भदौ। रेमिट्यान्सले देशको अर्थतन्त्रमा ऐतिहासिक टेवा पुर्‍याएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ, जुन हालसम्मकै उच्च हो।

यो वृद्धिदर अघिल्लो आर्थिक वर्षको १६.५ प्रतिशतको तुलनामा निकै बढी हो। गत वर्ष रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा पनि रेमिट्यान्स १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ, जसले विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य योगदान दिएको छ।

रेमिट्यान्सको यो उत्साहजनक वृद्धिको पछाडि वैदेशिक रोजगारीमा जाने नेपालीको बढ्दो संख्या प्रमुख कारण हो। समीक्षा अवधिमा ५ लाख ५ हजार ९५७ जना नेपालीले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन् भने ३ लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

आर्थिक वर्षको अन्तिम महिना, अर्थात् गत असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ। यो विशाल आप्रवाहले देशको शोधनान्तर स्थिति बलियो बनाउन र बाह्य क्षेत्रको स्थायित्व कायम राख्न मद्दत पुर्‍याएको छ।