नेपालको साख मूल्याङ्कन दोस्रो पटक गरिँदै, ‘उल्लेखनीय प्रगति’ देखाउने सरकारको तयारी

काठमाडौँ, ९ भदौ । नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन दोस्रो पटक गराउने तयारी थालेको छ। यो मूल्याङ्कनले अन्तर्राष्ट्रिय बजारमा नेपालको वित्तीय विश्वसनीयता देखाउँछ, जसले विदेशी लगानी आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

यसै सन्दर्भमा, अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले मूल्याङ्कनका लागि बलियो तयारी गर्ने निर्णय गरेको छ। अर्थमन्त्री पौडेलले पछिल्लो एक वर्षमा देशले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरी ‘उल्लेखनीय प्रगति’ भएको सन्देश दिन निर्देशन दिनुभयो।

बैठकमा राजनीतिक स्थायित्व, अर्थतन्त्र, सुशासन तथा सडक, पर्यटन र जलविद्युत् जस्ता पूर्वाधार क्षेत्रमा भएका सुधारलाई प्राथमिकता दिनेबारे छलफल भएको थियो।

अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सी ‘फिच रेटिङ्स’ले नेपालको मूल्याङ्कन गर्दै आएको छ। गत वर्षको मूल्याङ्कनमा नेपालले ‘बीबी माइनस’ रेटिङ पाएको थियो। अब अवस्थाको अध्ययन गर्न फिचको टोली छिट्टै नेपाल आउने कार्यक्रम छ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिवलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।