कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि नियमित यातायात सञ्चालन हुने

चितवन, ३० भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी परीक्षणका रूपमा केही सवारीसाधन आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालन गर्न काममा थप तीव्रता दिइएको छ।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उनका अनुसार निर्माण शुरू भएको ११औँ दिन आज ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।

“सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,” इन्जिनियर नेपालले भने।

निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। हाल काम अन्तिम चरणमा पुगेसँगै करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर र ग्रेडर, रोलर, एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट परिचालन भइरहेका छन्।

हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा पाइपसहितको ड्रेन निर्माण गरी माथि टिक ड्रेन बनाउने काम पनि भइरहेको इन्जिनियर नेपालले जानकारी दिए। सब–बेसको अन्तिम तह निर्माण सकिएपछि सडक सञ्चालनका लागि तयार हुनेछ। करिब ३०० मिटर लामो यस नयाँ ट्र्याकमा सात मिटर चौडा सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ।

“यो खण्ड अलिकति जोखिमपूर्ण छ। थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ,” उनले थपे।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि हाल फिनिसिङको काम भइरहेको छ। उनका अनुसार आइतबार परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको हो, हाल नयाँ ट्र्याक पूर्णरूपमा बन्द छ।

“सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र हिजो केही सवारीसाधन पास गराइएको हो,” मिश्रले भने। थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए।