कुस्ती खेलाडी चन्द मृत फेला, सीतापाइलामा झुण्डिएको अवस्थामा भेटिइन्

काठमाडौँ, भदौ १५ । सशस्त्र प्रहरी बलकी कुस्ती खेलाडी भावना चन्द काठमाडौंको सीतापाइलास्थित कुमारी टोलमा मृत फेला परेकी छिन् । आज आइतबार बिहान आफ्नै कोठामा २४ वर्षीया चन्द झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ घर भएकी चन्द सशस्त्र प्रहरी बलको खेलकुद शिक्षालय, प्रधान कार्यालयमा कार्यरत थिइन् ।

प्रहरीका अनुसार उनले कोठामै आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । आत्महत्याको कारणबारे भने अहिलेसम्म केही खुल्न सकेको छैन ।  जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएअनुसार चन्दको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।