नेपाल र बङगलादेशबीचको मैत्री शृङ्खलामा विजेतालाई ट्रफी प्रदान गरिने
काठमाडौँ, १९ भदौ । नेपाल र बङगलादेशबिच हुने दुई खेलका अन्तर्राष्ट्रिय फुटबल शृङ्खलमा विजेतालाई ट्रफी प्रदान गरिने भएको छ । यी दुवै खेल फिफा इन्टरनेसनल विन्डोअन्तर्गत हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गरी विजेतालाई ट्रफी प्रदान गर्ने जानकारी दिएको हो । दुवै खेलबाट समग्रमा नतिजा आएन भने दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय गरिने भएको छ ।
एन्फाको आयोजनामा नेपाल र बङ्गलादेशबीचका खेल शनिबार र मङगलबार दशरथ रङ्गशालामा हुनेछ । दुवै खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यसैगरी एन्फाले सामान्य पारापिटतर्फ नौ हजार र भिआइपी पारापिटतर्फ एक हजार टिकट बिक्री गर्ने जानकारी दिएको छ । एन्फाका अनुसार दर्शकहरूले टिकट खल्ती डिजिटल वालेट मार्फत किन्न सक्नेछ ।
नेपालविरद्ध खेल्न बङ्गलादेशको राष्ट्रिय टोली बुधबार नेपाल आइसकेको छ । यस प्रतियोगिताको अनुमानित बजेट १,२७,५८,१६८ रुपियाँ रहेको छ ।