दुग्ध क्षेत्रको विकासका लागि उद्यमशीलता र पूर्वाधारमा लगानी आवश्यक : सरोकारवाला
काठमाडौँ, असार २६ । सुदूरपश्चिम प्रदेशमा दुग्ध उत्पादक किसानको हित र व्यावसायिक लाभका लागि उद्यमशीलता विकास तथा पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
प्रदेश दुग्ध विकास बोर्डद्वारा धनगढीमा आयोजित ‘दुग्धलाई स्थानीय बजारबाट औपचारिक क्षेत्रमा ल्याउन अभिमुखीकरण’ कार्यक्रमका सहभागीहरूले दूधको प्रयोगलाई विविधीकरण गर्दै व्यावसायिक बनाउनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले प्रदेश दूध उत्पादनमा आत्मनिर्भर भए पनि यसलाई व्यावसायिक लाभसँग जोड्न नसकिएको स्वीकार गर्नुभयो । ‘हामी दूधमा आत्मनिर्भर छौँ, तर यसलाई उद्यमशीलतासँग जोडेर ठूलो लाभ लिन बाँकी छ ।’ मन्त्री थापाले भन्नुभयो, ‘व्यापारमा विविधीकरण गरी आन्तरिक खपत र निर्यात बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक छ ।’ उहाँले ठूलो लगानीमा पाउडर प्लान्ट स्थापना गर्ने तथा चिज, छुर्पी र पनिर उत्पादनमा जोड दिँदै सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव शङ्कर साहले प्रदेशमा दैनिक १० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उत्पादित दूधको ठूलो हिस्सा अझै पनि घरायसी प्रयोजनमै सीमित रहेको जानकारी दिनुभयो । उहाँले किसानहरूलाई निर्वाहमुखी उत्पादनबाट माथि उठेर उद्यमशील बन्न आग्रह गर्दै मन्त्रालयले प्रविधि, सीप विकास र उत्पादन विविधीकरणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।
बोर्डका सदस्य कर्णबहादुर हमालले अन्य प्रदेशबाट धुलो दूध (पाउडर मिल्क) मगाउनुपर्ने बाध्यता अन्त्य गर्न सुदूरपश्चिममै आफ्नै ‘पाउडर प्लान्ट’ स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा बोर्डका सदस्य भूपेन्द्र थापाले नेपालको दुग्ध क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र आगामी मार्गचित्रबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यकारी निर्देशक श्यामसिंह खड्काले बोर्डको परिचय र कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा खप्तड कृषि सहकारी संस्थाका अध्यक्ष पूर्णसिंह साउद र सुदूर सहकारी संस्थाका अध्यक्ष नरेन्द्रबहादुर चन्द लगायतले दुग्ध उत्पादक किसान र डेरी उद्योगीहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारी निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।