पशुपतिनाथमा साउने सोमबारको तयारी सुरु : बृहत् सरसफाइ अभियान सञ्चालन गरिने

काठमाडौँ,  असार २६ । पशुपति क्षेत्र विकास कोषले आसन्न साउन महिनाका सोमबारहरूमा पशुपतिनाथ मन्दिरमा हुने भक्तजनहरूको विशेष भिडलाई मध्यनजर गर्दै व्यवस्थापन र तयारीका कार्यहरू तीव्रताका साथ अघि बढाएको छ ।

साउने सोमबारको पूर्वसन्ध्यामा कोषले मन्दिरका मूल भट्ट, भण्डारी, सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका अन्य पदाधिकारीहरूसँग संयुक्त बैठक बसी विशेष व्यवस्थापनका लागि कार्ययोजना तय गरेको हो । तयारीकै सिलसिलामा यही असार २७ गते शनिबारदेखि पशुपति क्षेत्रमा प्रत्येक दिन बिहान नियमित रूपमा बृहत् सरसफाइ अभियान सुरु गरिने भएको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले साउनको पावन महिनामा पशुपतिनाथको दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरूलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा विस्तृत तयारी भइरहेको जानकारी दिनुभयो । बैठकमा दर्शनार्थीहरूको सुरक्षा, लाइन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी तथा स्वयंसेवक परिचालन लगायतका विविध पक्षहरूमा समन्वय र सहकार्य गर्ने निर्णय समेत भएको छ ।

पशुपति क्षेत्रको पवित्रता कायम राख्दै दर्शनार्थीलाई कुनै झन्झटविना पूजाआजा गर्ने वातावरण मिलाउन कोषले आफ्ना सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गर्ने सदस्य सचिव श्रेष्ठले बताउनुभयो । साउने सोमबारका दिन पशुपतिनाथमा देशका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।