घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु
काठमाडौँ, २६ असोज । काठमाडौँ उपत्यकामा दसैँको घटस्थापनादेखि आजसम्म १७५ सवारीसाधन दुर्घटनामा परेका छन् भने नौ जनाले ज्यान गुमाएका छन् ।
दसैँको घटनस्थापनादेखि आजसम्म उपत्यकामा १७५ सवारीसाधन दुर्घटना भएका र उक्त दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश घटना रातिको समयमा भएका छन् ।
ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दसैँ सुरु हुनुअघिदेखि नै सवारीसाधनको जाँचलाई कडाइ गरेका थियौँ, मापसे (मादकपदार्थ सेवन)जाँच, चालक अनुमतिपत्रको निरीक्षण तथा गति सीमामा ध्यान दिने कुरामा पनि ट्राफिक प्रहरी सक्रिय थियो ।”
ट्राफिक प्रहरीले सवारीसाधन चालकलाई विशेषगरी रातिको समयमा चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्राका लागि सवारी जाँचलाई समर्थन गर्न आह्वान गरेको छ ।
चाडपर्वमा रमाइलो गरेर राति घर फर्कनेको चाप, रमाइलो गर्ने उत्साह र समयको हतारोले गर्दा सवारी दुर्घटनाको जोखिम बढेकाेले सतर्क रहन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।