जिपको ठक्करबाट घोडाघोडीमा एकको मृत्यु : तीन जना घाइते

वैशाख २३, २०८२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका-२ टनकपुरमा आज बिहान तरकारी बोकेको जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीका अनुसार, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको जिपले साइकलयात्री बर्दगोरिया गाउँपालिका-६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौरालाई ठक्कर दिएको थियो । गम्भीर घाइते डगौरालाई तत्काल घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा पैदलयात्री घोडाघोडी-२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका-६ कोटा तुल्सीपुरका ४५ वर्षीय हर्कबहादुर डगौरा र सोही स्थानका २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले जिप र त्यसका चालक रोल्पाको त्रिवेणी गाउँपालिका-४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *