नेप्सेमा गिरावट जारी, ३२३ कम्पनीको ४ अर्ब ९० करोडको कारोबार

काठमाडाैं, २३ कात्तिक । आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ३०.०२ अंक घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत आइतबार ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसमध्ये सागर डिष्टिलरीको शेयर आजदेखि कारोबारमा आएको हो । त्यस्तै, यस दिन रु रु जलविद्युत परियोजना र १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ को मूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २७ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर इण्ड डेभलपमेन्टको करिब २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ ।