मागमा वृद्धिसँगै अण्डाको समर्थन मूल्य बढ्यो, लागत उठाउन अझै मुस्किल
काठमाडौँ, साउन २६ । बजारमा अण्डाको माग बढेपछि व्यवसायीहरूले अण्डाको समर्थन मूल्यमा वृद्धि गरेका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजैदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य तोकेको हो ।
सङ्घद्वारा सार्वजनिक गरिएको नयाँ दररेट अनुसार ‘एक्सएल’ अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपियाँ कायम गरिएको छ । त्यसैगरी, ठूलो अण्डाको ५४५ रुपैयाँ, मध्यम (मिडियम) अण्डाको ५ सय रुपियाँ र सानो अण्डाको प्रतिपेटी (७ क्रेट) ३ हजार रुपियाँ समर्थन मूल्य निर्धारण गरिएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार विगतमा फैलिएको बर्डफ्लु सङ्क्रमणका कारण धेरै सङ्ख्यामा कुखुरा मरेपछि उत्पादनमा उल्लेख्य गिरावट आएको छ । उत्पादन घटेको तर बजारमा माग उच्च भएकाले मूल्य बढाउनुपरेको उहाँले जानकारी दिनुभयो । फर्महरूले उपलब्ध गराएको तथ्याङ्कका आधारमा नयाँ मूल्य तोकिएको सङ्घले जनाएको छ ।
मूल्य वृद्धि भए तापनि किसानहरूले भने अझै पनि लागत मूल्य पाउन नसकेको अध्यक्ष पोखरेलको गुनासो छ । हाल एक गोटा अण्डाको उत्पादन लागत १९.१२ रुपियाँ पर्दछ, जसअनुसार प्रतिक्रेटको लागत ५७३.६ रुपियाँ हुन आउँछ । तर, हालको वृद्धि गरिएको मूल्य पनि लागतभन्दा कम नै छ ।
विगत केही वर्षदेखि बर्डफ्लुको प्रकोप र अण्डाको उचित मूल्य नपाउँदा किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ । लागत अनुसारको आम्दानी नहुँदा र ऋणको भार थपिँदै जाँदा धेरै किसानहरू व्यावसायिक कुखुरापालनबाट पलायन हुन थालेका छन् । रोगको प्रकोप र बजारको अस्थिरताका कारण यो क्षेत्रमा आबद्ध व्यवसायीहरू थप मारमा परेका छन् ।