चितवनमा ग्यास वितरण सहज बनाउन प्रशासन सक्रिय : अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह

काठमाडौँ, साउन २६ । चितवन जिल्ला प्रशासन कार्यालयले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या समाधान गर्न र वितरण प्रक्रियालाई सहज बनाउन सक्रियता बढाएको छ। प्रशासनले गत एक साताको अवधिमा टोल-फ्री नम्बरमा गुनासो टिपाउने ८०२ जना लक्षित वर्गका उपभोक्ताका घरमै ग्यास पुर्‍याउन सहजीकरण गरेको हो।

विशेष गरी असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर भरतपुर लगायत पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा ग्यास वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार समस्यामा परेका विभिन्न आश्रमहरूमा समेत प्रत्यक्ष रूपमा ग्यास आपूर्ति सुनिश्चित गरिएको छ।

उद्योगबाट ग्यास निस्कने तर उपभोक्तासम्म सहज रूपमा नपुग्ने गुनासो बढेपछि स्थानीय प्रशासनले उद्योगदेखि खुद्रा व्यवसायीसम्मको अनुगमन तीव्र पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ। जिल्लामा मासिक १ लाख २० हजार सिलिन्डर ग्यासको माग रहेकोमा हाल दैनिक ६ देखि ७ हजारको हाराहारीमा वितरण भइरहेको प्रजिअ अर्यालले जानकारी दिनुभयो।

ग्यास आपूर्तिमा देखिएको असहजताको प्राविधिक कारणबारे स्पष्ट पार्दै बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीले भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएका कारण पारादीपबाट ग्यास भर्नुपर्दा ढुवानीमा समय बढी लागेको बताउनुभयो । दुर्गापुरबाट दुई दिनमा आइपुग्ने बुलेटहरू पारादीप पुगेर फर्कन चार दिन लाग्ने र बरौनी रिफाइनरीले समेत कोटा घटाएका कारण आपूर्तिमा केही चाप परेको उहाँको भनाइ छ ।

व्यवसायीहरूले वर्तमान समस्या समाधानका लागि केही समयका लागि ‘आधा सिलिन्डर’ (७.१ केजी) मात्र भर्ने वा बरौनीबाट प्राप्त हुने कोटा वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । साथै, उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगरेमा बजारमा देखिएको यो चाप छिट्टै सामान्य हुने प्रशासन र व्यवसायी दुवैको ठहर छ ।

हाल चितवनमा साईबाबा, बाबा र नेपाल ग्यास उद्योगले नियमित रूपमा आफ्ना डिलरहरूमार्फत आपूर्ति व्यवस्था मिलाउँदै आएका छन् । प्रशासनले बजारमा कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न कडा निगरानी राख्ने प्रतिबद्धता जनाएको छ ।