म्याग्दीको दोसल्लेमा ‘फेकण्डो भिर’को कहर: ९ घरपरिवार विस्थापित, १८ घर उच्च जोखिममा

म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका नौ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । पहाडको शिरमा रहेको भिर जुनसुकै समयमा खस्न सक्ने देखिएपछि फेदीमा रहेको बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार भिरखाल्टा टोलका उच्च जोखिममा रहेका नौ घरपरिवारलाई गाईवस्तु र सरसामानसहित सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित हुनेहरूमा रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनको परिवार रहेका छन् । पहिरोको जोखिमका कारण थप १८ घरपरिवार समेत त्रसित अवस्थामा छन् ।

भिर चर्किएर ढुङ्गा खस्न थालेपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन र प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । टोलीले ‘ड्रोन’ क्यामेराको प्रयोग गरी पहिरोको अवस्था अध्ययन गरेको थियो । पहाडको गम्भीर अवस्थालाई ध्यान दिँदै विस्तृत अध्ययनका लागि भूगर्भविद्को टोली पठाउन राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरिएको छ ।

पहाडको शिरमा भिर, बीचमा दोसल्ले बस्ती र फेदीमा कालीगण्डकी नदी किनारको तिप्ल्याङ बजार रहेकाले यो पहिरो खसेमा ठूलो मानवीय र भौतिक क्षतिको खतरा छ । स्थानीय ६९ वर्षीय जितबहादुर पुर्जाले बाल्यकालदेखि हिँडडुल गरेको पहाडमा यसअघि कहिल्यै यस्तो चिरा नदेखेको बताए । अर्का स्थानीय रामचन्द्र पुर्जाले भिरबाट खसेका ढुङ्गा सिधै आँगनमा आउन थालेपछि ज्यान जोगाउन घर छोडेर गोठमा बस्न बाध्य भएको सुनाए ।

अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनका अनुसार यो पहिरोले स्थानीयको मुख्य आम्दानीको स्रोत मानिने सुन्तला बगैँचा मात्र होइन, कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक र हिस्तान–राम्चे जोड्ने सडकमा समेत गम्भीर क्षति पुर्‍याउने देखिएको छ । हाल विस्थापित परिवारहरू माथिल्लो दोसल्लेमा रहेका अस्थायी गोठ र आफन्तकहाँ आश्रय लिइरहेका छन् । प्रशासनले सो क्षेत्रमा उच्च सतर्कता अपनाउन र विना काम भिर आसपास नजान आग्रह गरेको छ ।