शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए बर्खास्त गर्ने शिक्षामन्त्री पुनको चेतावनी
काठमाडौं, २३ कात्तिक । शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका हुन् ।
आइतबार एक सूचनामार्फत मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताएका छन् ।
‘आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराखे समेत जानकारी गराउँदछु,’ ध्यानकर्षण पत्रमा भनिएको छ।
दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको मन्त्री पुनले जनाएका छन्।