कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध
काठमाडौँ, १४ भदौ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्गको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । त्रिशूली नदीले राजमार्गको तल्लो भाग कटान गरेपछि सडक माथिबाट पहिरो खसेर दुवैतर्फको बाटो अवरुद्ध भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएपछि सो राजमार्ग हुँदै चल्ने सवारीसाधन काठमाडौँमै रोकिएको छ । “त्रिशूलीको कटान र माथिबाट खसेको पहिरोले सडक अवरुद्ध छ, अहिले सवारीसाधन पठाउने अवस्था छैन,” उहाँले भन्नुभयो ।
राजमार्ग अवरुद्ध भएसँगै लामो दुरीका सवारीसाधनहरू नयाँ बसपार्कमै रोकिएका छन् । नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले सडकको अवस्था अनिश्चित भएकाले काठमाडौँबाट छुट्ने तयारीमा रहेका गाडीहरूलाई तत्काल नछोडिएको जानकारी दिनुभयो ।
पछिल्लो समय भोटेकोशीको बाढी र लगातारको वर्षाका कारण रसुवासहित विभिन्न जिल्ला जोड्ने मुख्य राजमार्ग तथा ग्रामीण सडकहरूमा ठुलो क्षति पुगेको छ । ठाउँ-ठाउँमा पहिरो जाने र सडक भासिने क्रम जारी रहेकाले यातायात सेवा नराम्ररी प्रभावित भएको छ ।