भोटेकोशीको बाढीमा परी भोजपुरका चार जना बेपत्ता
काठमाडौँ, भदौ १४ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि भोजपुरका चार जना व्यक्ति सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवाका विभिन्न आयोजनामा कार्यरत उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार बेपत्ता हुनेहरूमा रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका ९ का ३१ वर्षीय प्रभाकर दङ्गाल रहनुभएको छ । त्यसैगरी, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका ७ का ५९ वर्षीय गोविन्द राई र सोही हाइड्रोपावरमा कार्यरत षडानन्द नगरपालिका ९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा पनि सम्पर्कविहीन हुनुभएको छ ।
यस्तै, तुनवी कन्स्ट्रक्सन रसुवामा कार्यरत पौवादुङमा गाउँपालिका ५ सानोदुम्माका ६६ वर्षीय गोपी राई समेत बाढीपछि सम्पर्कमा नआएको प्रहरीले पुष्टि गरेको छ ।
भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा क्षति पुर्याएसँगै उनीहरू हालसम्म सम्पर्कविहीन रहेका हुन् । प्रहरीका अनुसार सम्पर्कविहीन भएकाहरूको खोजीका लागि रसुवास्थित सुरक्षा निकायसँग समन्वय भइरहेको छ । आफ्ना आफन्तहरू लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजन चिन्तित बनेका छन् ।