हाम्रो हेल्थको पहलमा २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौँ, २५ कात्तिक । काठमाडौँ उपत्यकाका ४५ भन्दा बढी विद्यालयका २२ हजार बढी विद्यार्थीहरूको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार भएको छ। ‘हाम्रो हेल्थ’ नामक संस्थाले यो महत्वपूर्ण कार्य सम्पन्न गर्दै ५८ हजारभन्दा बढी स्वास्थ्य अभिलेख विन्दुहरूलाई सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको हाे।

विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न यो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य ‘रेकर्डिङ’ प्रणालीको विकास गरेको हो।

यस प्रणालीमार्फत विद्यार्थीहरूको डिजिटल स्वास्थ्य प्रोफाइल तयार पारिँदै आएको छ, जसमा विद्यालयमा हुने सबै स्वास्थ्यसम्बन्धी क्रियाकलापहरू व्यवस्थित रूपमा अभिलेख गरिएका छन्।

‘हाम्रो हेल्थ’ का संस्थापक डा प्रशान्त भट्टराईले सरकारको ‘एक विद्यालय, एक नर्स’ नीति, मध्याह्न भोजन, खोप, ‘डिवर्मिङ’, आयरन/भिटामिन वितरण जस्ता कार्यक्रमहरू बढ्दै गएको सन्दर्भमा विद्यार्थीको स्वास्थ्यको व्यवस्थित ‘डाटाबेस’ नहुनुले सरकारले वास्तविक समयमा तथ्याङ्क पाउन नसक्ने अवस्था रहेको बताउनुभयो। उहाँका अनुसार, यस संस्थाले विद्यार्थी, अभिभावक, विद्यालय र नगरपालिकालाई तथ्य–आधारित निर्णय लिन सहयोग गर्ने बलियो विद्यार्थी स्वास्थ्य तथ्याङ्क बनाइरहेको छ।

यस ‘प्रोफाइल’ मा सरकारले सञ्चालन गर्ने खोप, आयरन र भिटामिन वितरण, कीरा मार्ने (डिवर्मिङ) कार्यक्रमहरू, विद्यालयमा हुने निजी क्षेत्रका स्वास्थ्य परीक्षणहरूलगायत विद्यालय नर्सहरूले दिने प्राथमिक उपचार तथा तत्कालीन स्वास्थ्य सेवाबारेका जानकारीहरू समेटिने डा भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार, विद्यालयमा भएका हरेक स्वास्थ्यसम्बन्धी क्रियाकलाप समेट्ने दीर्घकालीन र व्यवस्थित अभिलेख राख्नु नै यस संस्थाको प्रमुख कार्य हो। यस पहलले विद्यार्थीको स्वास्थ्य अवस्थाको निगरानी गर्न, स्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहयोग पुर्‍याउन र आवश्यक परेका बेला तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।