कैलालीकी विष्टको व्यावसायिक फूलखेती: वार्षिक २० लाखको कारोबार, ८ लाख बचत
कैलाली, ३० कात्तिक। कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्ट व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी गर्दै उदाहरणीय बनेकी छिन्। विगत दुई वर्षदेखि फार्म दर्ता गरेर व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी विष्टले फूल बिक्रीबाट मनग्य आम्दानी गरिरहेकी छिन्।
दुई बिघा जग्गा भाडामा लिएर खेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक करिब २० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको जानकारी दिइन्। “आम्दानी राम्रै हुन्छ। कामदारलगायत सबै खर्च कटाएर वार्षिक ८ लाख रुपैयाँसम्म बचत हुन्छ,” उनले भनिन्, “बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्रै करिब १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।”
उनका अनुसार फूलको मूल्य समयअनुसार फरक पर्ने गर्दछ। “फूल प्रतिकिलो १५० देखि ५०० रुपैयाँसम्म र प्रतिमाला ६० देखि १०० रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ,” विष्टले भनिन्, “चार जनाको परिवार छ। यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ। बचत पनि राम्रै हुन्छ। स्वरोजगार बनिएको छ।”
धनगढी उपमहानगरपालिकाले दिएको एकहप्ते फूलखेतीसम्बन्धी तालिम लिएर यस क्षेत्रमा लागेकी विष्टले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूलहरू उत्पादन गर्दै आएकी छिन्। उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति ६०० रुपैयाँका दरले दैनिक ज्याला दिएर रोजगारी समेत प्रदान गरेकी छिन्।
व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको उनको गुनासो छ। यद्यपि, फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान प्राप्त गरेको उनले बताइन्।
फूलखेतीमा बीमा पोलिसी नभएकोमा उनले चिन्ता व्यक्त गरिन्। बीमा पोलिसी भएमा फूलखेती गर्ने किसानलाई अझै सहज हुने उनको भनाइ छ।