नेकपा एमालेकाे महाधिवेशनका लागि विभिन्न उपसमिति गठन

काठमाडौं, ४ मङ्सिर । नेकपा एमालेले आफ्नो ११औँ महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। आज बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीहरू तोकेको हो।

बैठकले प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा काशीनाथ अधिकारी र सचिवमा माधव ढुंगेललाई तोकेको छ। जनपरिचालनका लागि प्रदीप ज्ञवालीलाई संयोजक र राजन भट्टराईलाई सचिवको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, आवास व्यवस्थापन समितिको संयोजकमा छविलाल विश्वकर्मा र सचिवमा लालबाबु पण्डित चयन हुनुभएको छ। खाद्य व्यवस्थापन समितिको नेतृत्व लेखराज भट्टले गर्नुहुनेछ भने भीष्म अधिकारी सचिव रहनुहुनेछ।

यातायात व्यवस्थापन समितिको संयोजकमा गोकर्ण विष्ट र सचिवमा रचना खड्कालाई तोकिएको छ। अतिथि सत्कार समितिको संयोजकमा रघुवीर महासेठ र सचिवमा महेश बर्तौला रहनुहुनेछ।
यस्तै, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयमसेवक परिचालन समिति गठन गरिएको छ।

प्रचार समितिको संयोजकमा पद्मा अर्याल र सचिवमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ। मञ्च व्यवस्थापन समितिको संयोजकमा विनोद श्रेष्ठ र सचिवमा लोकबहादुर भण्डारी हुनुहुन्छ।

स्वास्थ्य समितिको संयोजकमा कृष्ण गोपाल श्रेष्ठ र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहनुहुनेछ। आर्थिक समितिको संयोजकमा विष्णु रिमाल र सचिवमा विना श्रेष्ठलाई बनाइएको पार्टीले जनाएको छ।