घट्यो नेप्से, कारोबार रकममा पनि सामान्य गिरावट

काठमाडौँ, २४ मङ्सिर । गत सातादेखि ओरालो लाग्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पुनः घटेर बन्द भएको छ। मङ्गलबार सामान्य वृद्धि देखिए पनि नेप्सेले त्यसलाई निरन्तरता दिन सकेन र पुनः गिरावटमा सीमित भयो।

बुधबार नेप्से परिसूचक ७.८६ अङ्कले घटेर २६०६.२० विन्दुमा झरेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.८६ अङ्क, फ्लोट इण्डेक्स ०.५३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अङ्कले घटेको छ।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। मङ्गलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३२९ स्टकको ९१ हजार ३९४ पटकको कारोबारमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरका ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएका छन्।

यस दिन ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबारमा आएको झापा इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीज अग्रस्थानमा रहेको छ। सो कम्पनीको २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको १७ करोड रुपैयाँभन्दा बढी र युनिभर्सल पावर कम्पनीको साढे ११ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।