प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा, ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा
काठमाडौँ, ४ पुस । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी चुनावी सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो।
गृह मन्त्रालयबाट स्वीकृत भइसकेको उक्त योजना अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयले कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा ‘केन्द्रीय निर्वाचन सेल’ गठन गरेको छ।
लाखौँ जनशक्ति र व्यापक गस्ती
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार निर्वाचन लक्षित गस्तीलाई व्यापक बनाइएको छ। हालसम्म १ हजार १ सय ३६ पटक लामो दूरीको र ३ लाख ८९ हजार ९ सय ६० पटक छोटो दूरीको गस्ती गरिएको छ। यी गस्तीहरूमा १३ लाख ४६ हजार ३ सय २८ जनशक्ति (पटक–पटक गरी) परिचालित भएको प्रवक्ता काफ्लेले जानकारी दिए।
लुटिएका हतियार खोज्न विशेष टोली
प्रहरीले आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारबाट हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको छ। ती हतियारको पहिचान र बरामद गर्न तथा फरार कैदीबन्दी पक्राउ गर्न विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
सीमा नाका र उम्मेदवारको सुरक्षा
निर्वाचन बिथोल्ने समूहको निगरानी, अवैध चन्दा सङ्कलन र गुण्डागर्दी नियन्त्रणमा प्रहरी आक्रामक रूपमा प्रस्तुत हुने भएको छ। सीमा क्षेत्रमा हुने घुसपैठ रोक्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन थालिएको छ। साथै, उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, पर्यवेक्षक र सञ्चारकर्मीको सुरक्षाका लागि विशेष रणनीति अवलम्बन गरिएको काफ्लेले बताए।