रोल्पाको थवाङमा बोलेरो जिप दुर्घटना, १५ यात्रु गम्भीर घाइते
रोल्पा, १७ वैशाख । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, बिहीबार लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थवाङ गाउँपालिका–१ स्थित जलजलामा भीरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी जिपमा सवार १६ जना यात्रु घाइते भएका हुन्। जसमध्ये १५ जना गम्भीर र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ। उद्धार गरिएका घाइतेहरूलाई प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।