सेयर बजारमा लगातार तेस्रो दिन गिरावटः नेप्से २७३८ विन्दुमा झर्दा करिब ५ अर्बको कारोबार

काठमाडौँ, १७ वैशाख । सेयर बजार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८ विन्दुमा झरेको छ।

यसअघि मङ्गलबार २६ अङ्क र बुधबार २५ अङ्कले घटेको बजारमा आज पनि सुरुवाती समयदेखि नै बिक्री चाप देखिएको थियो। कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ विन्दुसम्म ओर्लिए पनि त्यसपछि भने गिरावट दर सम्हालिएको थियो।

परिसूचकसँगै कारोबार रकममा पनि सामान्य कमी आएको छ। अघिल्लो दिन ४ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएकामध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ, १६१ वटा कम्पनीको मूल्य घटेको छ भने १० वटा कम्पनीको मूल्य स्थिर रह्यो।

आज कारोबार भएका १३ उपसमूहमध्ये दुईवटाको सूचक मात्र सकारात्मक रहेका छन्। बैंकिङ उपसमूह ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह ०.८४ प्रतिशतले बढेका छन्। बाँकी सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा कम दरले घटेका छन्।

जसअनुसार अन्य उपसमूह सर्वाधिक ०.९७ प्रतिशतले घट्दा व्यापार ०.६३, विकास बैंक ०.४८, लगानी ०.४२, हाइड्रोपावर ०.४०, माइक्रोफाइनान्स ०.३४, जीवन बिमा ०.२६, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४ र निर्जीवन बिमा उपसमूह ०.०२ प्रतिशतले ओरालो लागेका छन्।

समग्र बजार घटे पनि आज श्रीनगर एग्रिटेकको सेयर मूल्य सर्वाधिक १२.५७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, शिखर पावरको ७.९१, एसियन हाइड्रोपावरको ७.८८, रिभर फल्स पावरको ४.९५ र एसवाई प्यानलको ३.८१ प्रतिशतले सेयर मूल्य बढेको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। त्यसैगरी, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ।