नक्कली राइफल र पेस्तोल बोकेर हिँड्ने दुई जना कोटेश्वरबाट पक्राउ, ‘नृत्य केन्द्र’ मा लुकाइएको थियो हतियार
काठमाडौं, ११ माघ । काठमाडौंको कोटेश्वर क्षेत्रमा नक्कली हतियार देखाएर त्रास फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको विशेष टोलीले शनिबार राति उनीहरूलाई हतियारको जखीरासहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा किरण घिमिरे (२८ वर्ष): झापा घर भई हाल काठमाडौं-३२ कोटेश्वर बस्ने र कुमार लोहार: अछाम घर भई हाल काठमाडौंको जडीबुटी बस्ने रहेकाे छन् ।
प्रहरीले उनीहरूको साथ र लुकाएको स्थानबाट निम्न सामग्रीहरू बरामद गरेको छ:
थ्री नट थ्री (३०३) राइफल जस्तो देखिने डमी हतियार: १ थान
कटुवा पेस्तोल जस्तो देखिने डमी हतियार: २ थान
फलामको खुकुरी: २ थान
यामाहा एफजेट मोटरसाइकल (बागमती प्रदेश ०२–०१२ प ५८५२): १ थान
प्रहरीका अनुसार केही समयदेखि शंकास्पद रूपमा हतियार बोकेर हिँडेको सूचना र सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरण घिमिरेको रहेको खुल्न आएको थियो।
पक्राउ परेपछि घिमिरेले दिएको बयानका आधारमा काठमाडौं महानगरपालिका-३२ स्थित ‘सांस्कृति नृत्य कला केन्द्र’ मा छापा मार्दा लुकाएर राखिएको अवस्थामा ती नक्कली राइफल र पेस्तोलहरू फेला परेका हुन्।
उनीहरूले ती नक्कली हतियार कुन प्रयोजनका लागि बोकेका थिए र कतै लुटपाट वा धम्क्याउने कार्यमा प्रयोग गरेका थिए कि भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।