देशभर मनसुनी वायुको प्रभाव : पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौँ, भदौ २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेकाले मुलुकका विभिन्न भूभागमा बदली र वर्षाको क्रम जारी छ ।
वर्तमान मौसमी अवस्था
हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पूर्ण बदली रहेको छ । तराईका केही स्थानमा आंशिक बदली देखिएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा अन्य प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्र र बागमती एवं गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
रातिको पूर्वानुमान
आज राति पनि देशभर बदलीकै अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।
भारी वर्षा र चट्याङको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।