आधिकारिक स्रोतलाई आधार मानेर समाचार सम्प्रेषण गर्न आयोगको आग्रह
काठमाडौँ, १२ माघ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनका क्रममा फैलिन सक्ने भ्रामक समाचारबाट बच्न यस्तो सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो, “नागरिकलाई यतिबेला सत्यतथ्य समाचार सामग्रीको खाँचो हुने भएकाले सञ्चारमाध्यमले समाचार लेख्दा आधिकारिक स्रोतलाई मात्र आधार बनाउन अनुरोध गर्दछु ।”
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले डिजिटल प्लेटफर्म र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने खालका सामग्री देखिन थालेकाले त्यसको व्यवस्थापनका लागि आयोगले मेटा, टिकटकलगायतका सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता पालना गराउन निगरानी गर्ने दायित्व सञ्चारमाध्यमको भएको बताउनुभयो । उहाँले विशेष गरी नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) लगायतका सरकारी सञ्चारमाध्यम सत्य र आधिकारिक समाचार सम्प्रेषणमा बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राससले आन्तरिक रूपमै निर्वाचन आचारसंहिता बनाएर कार्यान्वयन गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचन सफल बनाउन र नागरिकलाई सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमले अहम भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चारकर्मीले निर्वाचन आचारसंहिता र पत्रकारिताको आचारसंहिता दुवैलाई ध्यानमा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सञ्चारकर्मीले सामाजिक सञ्जालमा कुनै दल वा उम्मेदवारको पक्षपोषण नगरी निष्पक्ष भई पत्रकारिताको धर्म निभाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा टेलिभिजनले देशभरका आफ्ना समाचारदातालाई भिडियो कलमार्फत आचारसंहिताबारे अभिमुखीकरण गराएको थियो ।