अस्पतालहरूलाई स्वास्थ्य बीमा बोर्डको कडा निर्देशन : सेवा हुँदाहुँदै बिरामी ‘रिफर’ गरे सम्झौता खारेज हुने

काठमाडौँ, १७ माघ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध देशभरका स्वास्थ्य संस्थाहरूलाई आफ्नै अस्पतालमा सेवा उपलब्ध हुँदाहुँदै बिरामीलाई अनावश्यक रूपमा अन्यत्र ‘रिफर’ (प्रेषण) नगर्न कडा निर्देशन दिएको छ।

बोर्डले आज एक परिपत्र जारी गर्दै यस्तो कार्य स्वास्थ्य बीमा ऐन र नियमावली विपरीत हुने स्पष्ट पारेको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार कतिपय अस्पतालले पर्याप्त जनशक्ति र उपकरण हुँदाहुँदै पनि बिरामीलाई झन्झट दिने नियतले अन्यत्र पठाउने गरेको गुनासो आएपछि यो कदम चालिएको हो। “अनावश्यक रिफर गर्दा बिरामीले सास्ती पाउने मात्र होइन, एउटै स्वास्थ्य परीक्षण पटक-पटक गराउनुपर्ने आर्थिक भार र समयको बर्बादी समेत भइरहेको छ,” उहाँले भन्नुभयो।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र प्रेषण कार्यविधि २०८० को पूर्ण पालना गर्न निर्देशन दिएको छ। परिपत्रमा भनिएको छ:
अनिवार्य सेवा: अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अन्यत्र पठाउन पाइने छैन।
नजिकको संस्था: यदि सेवा उपलब्ध गराउनै नसक्ने भएमा मात्र प्रेषण पुर्जी (Referral Slip) भरी सेवा सुनिश्चित हुने गरी नजिकको अर्को स्वास्थ्य संस्थामा पठाउनुपर्नेछ।

बोर्डले अनावश्यक रिफर गर्ने अस्पतालहरूमाथि कडा आर्थिक र प्रशासनिक कारबाहीको चेतावनी समेत दिएको छ।
१. अनावश्यक रिफर गरिएको पाइएमा त्यस्ता बिरामीको उपचार खर्चको सोधभर्ना (Reimbursement) रोक्का गरिनेछ।
२. नियम पालना नगर्ने अस्पतालहरूसँगको बीमा सम्झौता स्थगन वा रद्द गरिने बोर्डले जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र जनमैत्री बनाउन बोर्डले अनुगमनलाई समेत तीव्र पार्ने बताएको छ। बिरामीले आफ्नै क्षेत्रका अस्पतालबाट गुणस्तरीय सेवा पाउन सकून् भन्ने उद्देश्यले यो निर्देशन जारी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *