नेप्सेमा झिनो अंकको सुधार, ८ अर्ब २२ करोडको कारोबार
काठमाडौँ, १९ माघ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा झिनो सुधार देखिएको छ। पछिल्लो दुई दिनको लगातार गिरावटपछि बजार सम्हालिने क्रममा भर्खरै आईपीओ निष्कासन गरी सूचीकृत भएका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण पुनः बढेको छ।
सोमबार नेप्से परिसूचक १.५३ अंकले बढेर २ हजार ६ सय ९५.७३ बिन्दुमा बन्द भएको छ। अघिल्ला दुई दिन बजार राताम्मे भए पनि सोमबार नयाँ कम्पनीहरूको बलमा बजारले सकारात्मक लय समातेको हो।
नेप्से परिसूचकमा झिनो वृद्धि देखिए पनि कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ। सोमबार ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर८ अर्ब २२ करोड ३९ लाख रुपैयाँमा किनबेच भयो। आइतबार ९ अर्ब १० करोड ९४ लाख रुपैयाँको कारोबार भएको थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले घटेका छन् भने फ्लोट इन्डेक्समा ०.१० अंकको सुधार देखिएको छ।
सोमबारको बजारमा विशेष गरी भर्खरै सूचीकृत भएका स्टकहरूमा लगानीकर्ता झुम्मिएका छन्। तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ:
१. एसवाई प्यानल नेपाल
२. श्रीनगर एग्रिटेक इन्डस्ट्रिज
३. हिमस्टार ऊर्जा
यस्तै, सान्भी इनर्जीको ९.९४ प्रतिशत, बन्दिपुर केबुलकारको ९.९३ प्रतिशत र ट्रेड टावर लिमिटेडको सेयर मूल्य ८.९४ प्रतिशतले बढेको छ। उता, मिथिला लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले पनि आज गुमाएका छन्।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको एसवाई प्यानल नेपालको ३८ करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भयो।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन समूह १.७७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.४५ प्रतिशतले बढेका छन्। विकास बैंक, निर्जीवन बीमा र व्यापार समूहमा पनि झिनो सुधार देखिएको छ भने अन्य उपसमूहका सूचकहरू राताम्मे रहेका छन्।