विपद्का बेला सरकार फेसबुकमा अल्झियो, प्राण जोगाउनभन्दा प्रचारमा ध्यान : सांसद आङ्देम्बे

काठमाडौँ, १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले देशमा ठुलो प्राकृतिक विपद् आइपर्दा सरकार उद्धार र राहतमा जुट्नुको साटो सामाजिक सञ्जाल र प्रचारबाजीमा मात्रै सीमित भएको आरोप लगाउनुभएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गर्नुभयो।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएका सांसद आङ्देम्बेले पीडित परिवारको अवस्था निकै दयनीय रहेको सुनाउनुभयो। “स्थलगत अवलोकन र उद्धारको पर्खाइमा रहेका पीडित परिवारका गन्थन र पीडा सुनेपछि आज म यो संसद्मा भन्न बाध्य भएको छु– सरकार सामाजिक सञ्जालमा अल्झियो,” उहाँले भन्नुभयो।

उहाँले सरकार जोखिममा रहेका समुदायसम्म समयमै पुग्न नसकेको र नागरिकको ज्यान जोगाउनु भन्दा पनि आफ्नो सस्तो लोकप्रियताका लागि प्रचारबाजी मिलाउन लागेको टिप्पणी गर्नुभयो। “सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा काम गर्नुभन्दा फेसबुकको हल्लामा रमाउन लाग्यो,” उहाँले थप्नुभयो।

सांसद आङ्देम्बेले भोटेकोशी र त्रिशूली बाढीका पीडितहरूले अझैसम्म पनि प्रभावकारी राहत र बेपत्ताहरूको खोजीमा सरकारको सक्रियता महसुस गर्न नपाएको बताउनुभयो। उहाँले सरकारलाई फेसबुकका ‘लाइक’ र ‘कमेन्ट’ गनेर नबस्न र वास्तविक पीडितको आँसु पुछ्ने गरी काम गर्न सुझाव दिनुभयो। सांसद आङ्देम्बेले थपे, यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्तको सदस्य कोही भएको भए, परेको भए मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो वाह मन्त्रीजी भन्न पोस्ट गरिराख्नुहुन्थ्यो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *