नेप्से १५.४४ अङ्कले बढ्यो, कारोबार रकममा पनि सामान्य वृद्धि
काठमाडौँ, १७ भदौ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि सकारात्मक देखिएको छ। अघिल्लो कारोबार दिन मङ्गलबारदेखि सुरु भएको सुधारको क्रमले आज पनि निरन्तरता पाएको हो।
बुधबार नेप्से परिसूचक १५.४४ अङ्कले बढेर २५३८.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ३.०२ अङ्क, फ्लोट इण्डेक्स १.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अङ्कले बढेका छन्।
परिसूचकाङ्कसँगै आज कारोबार रकममा पनि सामान्य सुधार आएको छ। मङ्गलबार २ अर्ब ९० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३५४ कम्पनीका ७२ लाख ६८ हजार कित्ता सेयर २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँमा किनबेच भएका छन्। कुल ३९ हजार ६७३ पटकको कारोबारबाट यो रकम बराबरको सेयर कारोबार भएको हो।
आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ। त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढीको सुधार देखिएको छ। यता, ‘एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४’ को मूल्यमा भने सर्वाधिक ५.८१ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकमका आधारमा आज सानिमा मिडिल तमोर हाइड्रोपावर अग्रस्थानमा रह्यो। यस कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोड र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने २ वटा घटेका छन्। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशतले बढेको छ। यता म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने आज सामान्य अङ्कले ओरालो लागेका छन्।