प्रतिनिधिसभाद्वारा रसुवा बाढीसम्बन्धी विशेष प्रस्ताव पारित, उद्धार र पुनःस्थापनामा जुट्न सरकारलाई निर्देशन
काठमाडौँ, १७ भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सभामुख डोलप्रसाद अर्यालले पेस गर्नुभएको विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सभामुख अर्यालले बैठकमा प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमा बाढीको चपेटामा परेर ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
विशेष प्रस्तावमार्फत सभामुख अर्यालले यो राष्ट्रिय शोकको घडीमा सबै पक्षलाई ऐक्यबद्ध हुन आह्वान गर्नुभएको छ । उहाँले तीन वटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै सुरक्षा निकाय एवं संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गर्न सरकारलाई निर्देशन दिनुभयो ।
संसद्ले मुख्य गरी निम्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ:
१. बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाउने ।
२. बाढीबाट विस्थापित भएका नागरिकहरूको तत्काल उचित व्यवस्थापन र पुनःस्थापना गर्ने ।
३. घाइतेहरूको उपचारका लागि आवश्यक सबै प्रबन्ध मिलाउने ।
सभामुख अर्यालले बाढीले पुर्याएको ठुलो जनधनको क्षतिप्रति संसद्को तर्फबाट गहिरो दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाको जनजीवन अस्तव्यस्त बनाएपछि सदनले यस विषयलाई उच्च प्राथमिकतामा राखेर विशेष प्रस्ताव पारित गरेको हो ।