अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डन र बहराइनस्थित अमेरिकी बेसमा मिसाइल प्रहार

एजेन्सी, १७ भदौ । संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य मुठभेडले मध्यपूर्वमा ठुलो युद्धको जोखिम निम्त्याएको छ । अमेरिकी सेनाले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेलगत्तै इरानले जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले इरानको हवाई रक्षा क्षेत्र, विस्फोटक पदार्थ भण्डारण स्थल र सञ्चार केन्द्रहरूमा लक्षित आक्रमण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । हर्मुज जलमार्गमा व्यापारिक जहाज र अमेरिकी सैनिकहरूमाथि इरानले गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको वासिङ्टनको भनाइ छ ।

यद्यपि, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिकी आक्रमणले सिरिकमा भइरहेको एक विवाह समारोहलाई समेत निशाना बनाएको दाबी गर्नुभएको छ । उक्त घटनामा ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएको भन्दै इरानले यसलाई ‘बर्बर र आपराधिक’ कार्यको संज्ञा दिएको छ र यसको कडा बदला लिने चेतावनी दिएको छ ।

अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले जोर्डनस्थित अमेरिकी ‘प्रिन्स हसन एयर बेस’ मा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उक्त बेसमा रहेका मानवरहित विमानका ह्याङ्गरहरूलाई क्षति पुर्‍याएको इरानको दाबी छ ।
त्यसै गरी, इरानी सेनाले बहराइनको ‘शेख इसा’ सैन्य आधार र जोर्डनकै ‘क्याम्प टिटिन’ मा पनि आक्रमण गरेको जनाएको छ । यी आक्रमणहरूमा केही सैनिक हताहत भएको दाबी इरानले गरे पनि अमेरिकाले यसको आधिकारिक पुष्टि गरिसकेको छैन ।

तनाव बढ्दै जाँदा छिमेकी मुलुकहरू पनि प्रभावित भएका छन् । जोर्डनको हवाई सुरक्षा प्रणालीले इरानले प्रहार गरेका १३ वटा ब्यालेस्टिक मिसाइलहरू आकाशमै नष्ट गरिदिएको जनाएको छ भने कुवेतले पनि आफ्नो क्षेत्रमा आएका इरानी ड्रोनहरूलाई विफल पारेको बताएको छ ।
बहराइनको आन्तरिक मन्त्रालयले आफ्ना नागरिकहरूलाई उच्च सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आधिकारिक च्यानलहरूबाट आउने सूचना मात्र पछ्याउन अपिल गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग नजिक इरानी लक्ष्यहरूमाथि आक्रमणको नयाँ लहर सुरु गरिएको बताउनुभएको छ । उहाँले तेहरानलाई चेतावनी दिँदै भन्नुभएको छ, “अमेरिकी कारबाहीको जवाफ दिने प्रयास गरेमा वासिङ्टनले अझै कडा प्रतिक्रिया दिनेछ । तेहरान विरुद्ध अझै ठुला आक्रमणहरू बाँकी नै छन् ।” हाल मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरू ‘हाइ अलर्ट’ (उच्च सतर्कता) मा रहेका छन् ।