आगामी निर्वाचन देशको भविष्य तय गर्ने ‘ठूलो जनमतसंग्रह’ हो : ईश्वर पोखरेल

काठमाडौँ, २१ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले आगामी निर्वाचन सामान्य चुनावी प्रतिस्पर्धा मात्र नभई देशको भविष्य निर्धारण गर्ने ‘ठूलो जनमतसंग्रह’ भएको बताउनुभएको छ ।

बुधबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले मुलुक अहिले निर्णायक मोडमा रहेको उल्लेख गर्नुभयो । उहाँले यो निर्वाचनलाई देश बनाउने शक्ति र देशलाई अस्थिरता एवं विघटनतर्फ धकेल्ने शक्तिहरूबीचको लडाइँको रूपमा चित्रण गर्नुभयो ।

“यो निर्वाचनमा देश बनाउने पक्षले जित्नैपर्छ र देश जलाउने पक्षले हार्नैपर्छ,” पोखरेलले भन्नुभयो, “यो विषय नेकपा एमाले वा ईश्वर पोखरेलको मात्र होइन, बरु सिंगो राष्ट्रको भविष्यसँग जोडिएको सवाल हो । देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा राष्ट्रवादी शक्तिहरू सफल हुनुपर्छ ।”

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले आफू सधैँ राष्ट्रिय हित, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा अडिग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले मतदातालाई आश्वस्त पार्दै आफूबाट राष्ट्रको अहित हुने कुनै पनि कार्य नहुने स्पष्ट पार्नुभयो ।

नेपालको जातीय र सामाजिक सद्भावलाई राष्ट्रको मुख्य आधार मान्दै उहाँले यसलाई खलबलिन दिन नहुनेमा जोड दिनुभयो । “जातीय सद्भाव बिग्रियो भने देशको अस्तित्व नै संकटमा पर्छ,” उहाँले भन्नुभयो, “जातीय सद्भाव एमालेले बोकेको मुख्य झण्डा हो, यो झण्डालाई हामी कहिल्यै झुक्न दिँदैनौँ ।”

नेता पोखरेलले एमाले नेतृत्वको सरकारले सुरु गरेको विकास र समृद्धिको अभियानलाई रोक्न विभिन्न षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो । उहाँले मुलुकमा समृद्धि, राजनीतिक स्थायित्व र राष्ट्रिय एकता कायम गर्न एमालेको विजय अपरिहार्य रहेको दाबी गर्दै मतदातासँग सहयोगको अपिल गर्नुभयो ।