चीनतर्फ झिम्मु पोस्ट नजिकै पहिरो खस्दा भोटेकोशीको बहाव प्रभावित, तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोक, २८ साउन । चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण नदीको बहाव करिब आधाजति थुनिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बिहीबार बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको ठूलो पहिरो खसेको हो। पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव प्रभावित भएपछि जुनसुकै बेला आकस्मिक बाढी आउन सक्ने भएकाले नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेषगरी भोटेकोशी र बाह्रबीसे नगरपालिका तथा बलेफी गाउँपालिका क्षेत्रअन्तर्गत नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ।