वीरगञ्ज नाकाबाट दुई पाङ्ग्रे सवारीको आयातमा उल्लेख्य वृद्धि, ६ महिनामै साढे ४ अर्बको ‘अनएसेम्बल्ड’ मोटरसाइकल भित्रिए
वीरगञ्ज (पर्सा), २२ माघ । देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट दुई पाङ्ग्रे सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज भन्सार कार्यालय हुँदै ४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ (एसेम्बल नगरिएका) मोटरसाइकल आयात भएका हुन् ।
यी सवारी साधनको आयातबाट राज्यकोषमा ४ अर्ब ४३ करोड रुपैयाँ राजस्व दाखिला भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संख्यामा ठुलो वृद्धि देखिएको हो । गत आवको पहिलो ६ महिनामा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
विद्युतीय र तयारी मोटरसाइकलको आयात पनि बढ्दो
वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार पूर्ण रूपमा तयार भई आएका (सीबियु) मोटरसाइकलको आयात पनि गत वर्षको तुलनामा दोब्बरभन्दा बढीले बढेको छ । चालु आवको ६ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका ४ हजार ५६७ वटा तयारी मोटरसाइकल भित्रिएका छन्, जबकि गत वर्ष सोही अवधिमा २० करोड ७६ लाख मूल्यका २ हजार १९२ वटा मात्र आयात भएका थिए ।
त्यस्तै, पछिल्लो समय विद्युतीय मोटरसाइकलतर्फ पनि आकर्षण बढ्दो देखिएको छ । चालु आवको ६ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत वर्षको सोही अवधिमा ३० करोड ९६ लाख मूल्यका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल भित्रिएका थिए ।
स्वदेशमै एसेम्बल उद्योगहरू खुल्ने क्रम बढेसँगै अनएसेम्बल्ड मोटरसाइकलको आयातसँगै समग्र दुई पाङ्ग्रे बजारमा चहलपहल देखिएको भन्सार कार्यालयले जनाएको छ ।