ओलीसँग झापाली मतदाताले भने : ‘राज्यको सम्पत्ति जलाउने विध्वंशकारीलाई कारबाही होस्’
झापा, २५ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइतबार आफ्नै गृहजिल्ला झापाको कमल गाउँपालिका–५ का मतदातामाझ पुग्दा माहौल भावुक र आक्रोशित बन्यो। चुनावी घरदैलोका क्रममा मतदाताले विकासप्रेमी नेतालाई स्वागत मात्र गरेनन्, हालैका हिंसात्मक घटनामा सरकारी संरचना जलाउनेहरूलाई कारबाही गर्न कडा माग समेत गरे।
कमल–५ की स्थानीय दुर्गा अधिकारीले अध्यक्ष ओलीसँगको भेटमा गला अवरुद्ध पार्दै भन्नुभयो, “त्यो भ्युटावर, सिंहदरबार र सरकारी कार्यालयहरू जल्दा त मेरो हृदयबाटै धुँवा उठ्यो। ती भवनहरूको के दोष थियो र जलाईयो? राज्यको सम्पत्तिमाथि विध्वंस मच्चाउनेहरूलाई अब त्यसै छाड्नु हुन्छ?”
अधिकारीको प्रश्नमा केही बेर मौन रहनुभएका अध्यक्ष ओलीले धैर्य रहन आग्रह गर्दै भन्नुभयो, “सबै कुरा समय आएपछि ठिक हुन्छ, चिन्ता नगर्नुहोला।”
स्वामीचोक पुग्दा अन्य स्थानीयहरूले पनि विकासका धरोहर र सार्वजनिक सम्पदामाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोड दिएका थिए। सोही अवसरमा स्थानीय राम धिमालले रतुवा नदीको तटबन्धन, गाउँगाउँमा पुगेको कालोपत्रे सडक, बिजुली र खानेपानीको व्यवस्था ओलीकै पहलमा सम्भव भएको स्मरण गर्नुभयो। “हाम्रो गाउँको मुहार फेर्ने नेतालाई कसैले भुल्न सक्दैन, विकास गर्नेलाई नै हामीले फेरि छान्ने हो,” धिमालले भन्नुभयो।
अध्यक्ष ओली शनिबार र आइतबार दुई दिनदेखि कमल गाउँपालिकाका विभिन्न टोलहरूमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट र भलाकुसारीमा व्यस्त हुनुहुन्छ। भेटघाटका क्रममा मतदाताले विकासका कामलाई निरन्तरता दिन र देशमा कानुनी शासनको प्रत्याभूति गराउन नेतृत्वलाई सुझाव दिएका छन्।