दाङ-२ को चुनावी अङ्कगणित : प्रतिस्पर्धीलाई पछि पार्दै एमाले महासचिव पोखरेल
दाङ, १७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर २ को चुनावी सरगर्मी तीव्र बनेको छ। चार ठूला दलबीच रोचक भिडन्त हुने आँकलन गरिएको यस क्षेत्रमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चुनावी माहोल आफ्नो पक्षमा पार्दै लगेका छन्।
यस क्षेत्रमा एमालेका तर्फबाट पार्टीका केन्द्रीय महासचिव पोखरेल, नेपाली कांग्रेसबाट केन्द्रीय विभाग सदस्य किरणकिशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सहमहामन्त्री विपिनकुमार आचार्य र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट केन्द्रीय सदस्य निर्मल आचार्य चुनावी मैदानमा छन्। केन्द्रीय स्तरका नेताहरूको उम्मेदवारीले यहाँको प्रतिस्पर्धालाई थप रोचक र ‘हाइप्रोफाइल’ बनाएको छ।
चुनावी अभियानलाई तीव्रता दिएका एमाले उम्मेदवार पोखरेलले मतदाताबाट उत्साहजनक साथ पाइरहेको दाबी गरिएको छ। राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने ‘हेभीवेट’ नेता भएकाले पनि स्थानीय स्तरका विकास निर्माण र समस्या समाधानमा उनको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा मतदाताले गरेका छन्। घरदैलोका क्रममा मतदाताले देखाएको उत्साह र विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्ने युवाहरूको लहरले पोखरेलको जितको आधार थप बलियो बन्दै गएको विश्लेषण हुन थालेको छ।
विगतका चुनावमा आश्वासन मात्र पाएर निराश बनेका दाङ-२ का बासिन्दाले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने बलियो नेतृत्वको खोजी गरिरहेका छन्। मतदाताका यी नै सुक्ख–दुःखलाई मसिनोसँग बुझेका पोखरेलले चुनावी दौडमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै लगेका छन्।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन सत्ता गठबन्धनकी साझा उम्मेदवार (माओवादी केन्द्र) रेखा शर्मा २६ हजार ८८० मतसहित विजयी भएकी थिइन्। शर्माले एमालेका पोखरेललाई मात्र १९३ मतको झिनो अन्तरले पराजित गरेकी थिइन्। उक्त चुनावमा पोखरेलले २६ हजार ६८७ मत पाउँदा रास्वपाका विशाल अधिकारीले १५ हजार ८६१ मत ल्याएका थिए।
त्यतिबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनको एक्लै सामना गरेका पोखरेललाई यसपटक भने राजनीतिक समीकरणले पनि केही सहज बनाएको छ। अघिल्लो चुनावमा समानुपातिकतर्फ एमाले २३ हजार ५६८ मतसहित यहाँको पहिलो दल बनेको थियो। समानुपातिकतर्फ कांग्रेसले १९ हजार ५९१, रास्वपाले १३ हजार ३३, माओवादी केन्द्रले १० हजार ८०२ र नेकपा (एकीकृत समाजवादी) ले ७८२ मत पाएका थिए।
अहिले मुख्य दलहरूबीच कुनै चुनावी गठबन्धन नभएको र विप्लव नेतृत्वको नेकपाले समेत एमालेलाई साथ दिएको अवस्था छ। यस्तोमा एमालेले आफ्नो विगतको समानुपातिक मत मात्र जोगाउन सके पनि महासचिव पोखरेलले सहजै चुनाव जित्न सक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।