शेयर बजारमा ३२ अङ्कको गिरावट, २१ अर्ब ५० करोडको उच्च कारोबार
काठमाडौँ, २६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार उल्लेख्य गिरावट आएको छ । पछिल्लो समय उतारचढावपूर्ण देखिएको बजार ३२.०८ अङ्क (१.११ प्रतिशत) ले घटेर २,८४३.३५ को विन्दुमा थामिएको हो ।
परिसूचक ओरालो लागे पनि बजारमा कारोबार रकम भने उत्साहजनक देखिएको छ । नेप्सेका अनुसार आज ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २ लाख ५ हजार ६११ पटक खरिद–बिक्री हुँदा कूल २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये तीनवटा समूहको सूचकमा सुधार आएको छ भने बाँकी १० वटा समूह राताम्मे देखिएका छन् । वृद्धि हुनेमा जीवन बिमा (०.५१%), म्युचुअल फन्ड (१.३४%) र निर्जीवन बिमा (०.४७%) रहेका छन् ।
घटने समूहहरूमध्ये व्यापार (२.१२%) र वित्त समूह (२.०६%) मा सबैभन्दा बढी गिरावट देखिएको छ । यस्तै, बैङ्किङ १.२७, विकास बैङ्क १.१६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८ र उत्पादन तथा प्रशोधन समूह १.८२ प्रतिशतले ओरालो लागेका छन् ।
आजको बजारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अर्कोतर्फ, हिमस्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ६.३६ प्रतिशतले गुमाएका छन् ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको १ अर्ब ९ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँ बराबरको २४ लाख ९ हजार ९८९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।