दानव नदीमा पक्की पुल नहुँदा मर्चवारवासीको यात्रा जोखिमपूर्ण : वर्षौंदेखि बाँसकै भर

रुपन्देही, २८ फागुन । रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दा पक्की पुल नहुँदा अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सम्मरीमाई गाउँपालिका–३ भटौलिया र लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइ जोड्ने दानव नदीमा पक्की पुल नबन्दा स्थानीयवासी दैनिक रूपमा काठको डुङ्गा र बाँसको अस्थायी पुलको सहारामा वारपार गरिरहेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का स्थानीय कोइल लोधका अनुसार हाल एक स्थानीय मल्लाह परिवारले बनाएको बाँसको पुलले आवतजावतमा केही सहजता ल्याए पनि यो निकै जोखिमपूर्ण छ । “मल्लाह परिवारले दुःख गरेर पुल बनाउनुभएको छ, यसले उहाँहरूको रोजीरोटी चलेको छ र हामीलाई बाटो छोटिएको छ,” उनले भने, “तर यो अस्थायी पुल भाँचिएर मानिस घाइते हुने र सवारीसाधनमा क्षति पुग्ने डर सधैँ रहन्छ ।”

यो मार्ग अमहवादेखि बन्जरी चोक हुँदै कक्रहवा, लुम्बिनी र नेपाल–भारत सीमासम्म पुग्ने छोटो र महत्त्वपूर्ण बाटो भएकाले यहाँ पक्की पुल अपरिहार्य रहेको स्थानीयको भनाइ छ ।

वर्षायाममा यो समस्या झनै विकराल बन्ने गरेको छ । अर्का स्थानीय धर्मेन्द्र लोधका अनुसार हिउँदमा बाँसको पुलले काम गरे पनि वर्षा सुरु भएपछि यो प्रयोगविहीन हुन्छ । “वर्षातमा पानीमा हेलिएर हिँड्नुपर्छ । पक्की पुल नहुँदा बाढी आएको बेला अजमा, दुईमुहान वा सीमा क्षेत्र हुँदै निकै लामो बाटो घुम्नुपर्ने बाध्यता छ,” उनले दुःखेसो पोखे ।

नदीको दुवैतर्फ स्थानीयको जग्गाजमिन छ । वारिका किसानको खेत पारि र पारिका किसानको खेत वारि भएकाले कृषि कर्मका लागि आवतजावत गर्न थप सकस हुने गरेको स्थानीय कुमार लोधले बताए ।

बाँसको पुल नै मल्लाह परिवारको रोजीरोटी

एकातिर पुल नहुँदा नागरिकलाई सास्ती छ भने अर्कोतिर यही बाँसको पुल एक विपन्न परिवारको रोजीरोटीको माध्यम बनेको छ । स्थानीय बासमती मल्लाहको परिवारले झण्डै एक महिना लगाएर बाँस सङ्कलन गरी करिब १५ दिनको मेहेनतमा यो अस्थायी पुल तयार पार्ने गरेको छ ।

पुलको रेखदेख र मल्लाही (शुल्क) उठाउन दिनभर घाटमै बस्ने बासमतीले दैनिक एक सयदेखि दुई सय रुपैयाँसम्म आम्दानी हुने बताइन् । “बाटो हिँड्नेले गच्छेअनुसार ५ देखि २० रुपैयाँसम्म दिन्छन् । स्थानीयवासीबाट भने नगदको सट्टा धान, गहुँलगायतका अन्नबाली भित्र्याउने समयमा घरैपिच्छे चारदेखि १० पाथीसम्म ‘जिउका’ (अन्न) लिने गरेका छौँ,” उनले भनिन्, “आफ्नो खेतीपाती नभएकाले यही घाटको आम्दानीले हाम्रो नुन–तेल र घरखर्च चलेको छ ।”

यस घाटबाट वरपरका १०–१२ गाउँका करिब एक हजार घरधुरीका बासिन्दा दैनिक ओहोरदोहोर गर्छन् । बाँसको पुलले तत्कालका लागि यात्रा सम्भव बनाए पनि दीर्घकालीन र सुरक्षित यात्राका लागि तत्काल पक्की पुल निर्माण गर्न मर्चवारवासीले सरकारसँग जोडदार माग गर्दै आएका छन् ।