प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० सांसदको नाम सार्वजनिक (सूचीसहित)
काठमाडौँ, २ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने ११० जना सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । राजनीतिक दलहरूले आयोगमा पेस गरेको संशोधित सूचीका आधारमा आइतबार निर्वाचित सदस्यहरूको घोषणा गरिएको हो ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम राजनीतिक दलहरूले छनोट गरी पठाएका उम्मेदवारहरूलाई निर्वाचित भएको घोषणा गरेको हो ।
निर्वाचित भएका सांसदहरूलाई आगामी बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित आयोगको कार्यालयमा एक विशेष समारोहका बीच प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । प्रमाणपत्र लिनका लागि निर्वाचित सदस्यहरूले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो लिएर आयोगको सचिवालयमा उपस्थित हुनुपर्ने आयोगले जनाएको छ ।
यसपटकको निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘थ्रेसहोल्ड’ कटाएर सिट प्राप्त गरेका छन् । आयोगले क्लस्टर र समावेशी सिद्धान्तको आधारमा दलहरूले पठाएको नाम मिले/नमिलेको जाँच गरेपछि मात्र अन्तिम सूची सार्वजनिक गरेको हो ।