स्वास्थ्य बीमा सेवा अब राष्ट्रिय परिचयपत्रका आधारमा: चैत २५ देखि नयाँ व्यवस्था लागू हुने

काठमाडौँ, २ चैत । अबदेखि स्वास्थ्य बीमाको सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सोमबार राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने सम्बन्धी महत्वपूर्ण समझदारी भएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र विभागका महानिर्देशक नमराज घिमिरेले यससम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गर्नुभएको छ । यो नयाँ व्यवस्था आगामी चैत २५ गतेदेखि देशभर कार्यान्वयनमा आउने बोर्डले जनाएको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अब राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरिनेछ । यस प्रक्रियाले स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । “सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्ने काम सुरु भएको छ,” मल्लले भन्नुभयो, “त्यसपछि राष्ट्रिय परिचयपत्रकै आधारमा दर्ता, नवीकरण र सेवा प्रवाह हुनेछ ।”

हालसम्म स्वास्थ्य बीमा बोर्डमा एक करोड दुई लाख नागरिक आबद्ध भइसकेका छन् । अहिलेसम्म नागरिकता वा चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा बीमा गर्ने गरिए पनि अब राष्ट्रिय परिचयपत्रलाई नै मुख्य आधार बनाइनेछ ।

यो व्यवस्था लागू भएपछि बीमा दर्तामा हुने दोहोरोपना नियन्त्रण हुने र सेवा लिने प्रक्रिया अझ सरल हुने बोर्डको दाबी छ । आगामी चैत २५ गतेदेखि हुने नयाँ दर्ता र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएकाले सोहीअनुसार तयारी गर्न बोर्डले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।