पोखरामा पाँच वर्षपछि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने : तयारी पूरा

काठमाडौँ, चैत २ ।  देशको पर्यटकीय राजधानी पोखरामा आगामी चैत ५ देखि ७ गतेसम्म २१औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा हुन लागेको यस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले ‘एक्युरेसी’ विधामा हुने यस प्रतिस्पर्धामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० जना खेलाडीले नाम दर्ता गराएको जानकारी दिनुभयो । सहभागी खेलाडीहरूले पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनारस्थित खपोँदीमा अवतरण गर्नेछन् ।

विगतमा कोभिड–१९ महामारी र वि.सं. २०७८ मा नवौँ राष्ट्रिय खेलकुदका क्रममा खेलाडी निशिम थापाको दुःखद निधन भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा लगाएको प्रतिबन्धका कारण यो च्याम्पियनसिप पाँच वर्षदेखि स्थगित हुँदै आएको थियो । १८औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल यस खेलको निरन्तरताले साहसिक पर्यटन प्रवर्द्धनमा ठूलो सघाउ पुग्ने विश्वास लिइएको छ ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले भन्नुभयो, “साहसिक खेलका माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पुऱ्याउनु र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो ।” उहाँका अनुसार यसै प्रतियोगितामार्फत आगामी १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको प्याराग्लाइडिङ टोलीको समेत छनोट गरिनेछ ।

प्रतियोगितामा पुरुषतर्फको एक्युरेसी विधामा विजेता हुनेले १ लाख ५० हजार रुपियाँ, दोस्रो हुनेले १ लाख रुपियाँ र तेस्रो हुनेले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७५ हजार रुपियाँ, ५० हजार रुपियाँ र २५ हजार रुपियाँ प्रदान गरिनेछ । टिम ओभरअल विधामा समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।

सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आयोजकले प्रत्येक उडान अघि मौसमको आधिकारिक पूर्वानुमान अध्ययन गर्ने र खेलाडीहरूलाई प्राविधिक ब्रिफिङ गर्ने व्यवस्था मिलाएको छ । आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली मोटरबोटसहित तयारी अवस्थामा रहने बताइएको छ । यस प्रतियोगिताले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।