यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमण: सात जनाको मृत्यु, १४५ घाइते

एजेन्सी, २ चैत । इरानबाट प्रहार गरिएका शृङ्खलाबद्ध मिसाइल र ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा सात जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेब्रुअरी २८ देखि हालसम्म भएका यी आक्रमणमा परी अन्य १४५ जना घाइते भएका छन् ।

मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा दुई जना सैनिक र पाँच जना सर्वसाधारण रहेका छन् । घाइते हुनेहरू विभिन्न देशका नागरिक रहेको बताइएको छ । सो अवधिमा यूएईको प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोनहरूलाई बीचैमा अवरोध गरी नष्ट गरेको छ ।

सोमबार मात्रै ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरी आक्रमण गरिएको थियो । यी आक्रमणबाट अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुगेको छ । अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल खस्दा एक नागरिक सवारी साधन ध्वस्त भएको र त्यसमा सवार एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै, दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण भएपछि एउटा इन्धन ट्याङ्कमा भीषण आगलागी भएको थियो । सो घटनाका कारण सुरक्षा सतर्कता अपनाउँदै केही समयका लागि विमानस्थलको उडान सेवा समेत ठप्प भएको थियो । फुजैराहको तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए तापनि त्यहाँ कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

इरानसँगको तनाव बढ्दै गएपछि यूएईको रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । मन्त्रालयले आफ्ना नागरिक र आप्रवासीहरूलाई सुरक्षा नियमहरूको पालना गर्न र कुनै पनि शङ्कास्पद गतिविधिको जानकारी तत्काल दिन अनुरोध गरेको छ । मध्यपूर्वमा बढ्दै गएको यो तनावले क्षेत्रीय सुरक्षा र स्थिरतामा गम्भीर चुनौती थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *