खानेपानीको चरम अभावले रित्तिँदै पाँचथरको तुम्बेवा: विकास पुगे पनि बसाइँसराइ तीव्र

काठमाडौँ, फागुन २९ । पाँचथरको तुम्बेवा गाउँपालिका–१ स्थित ढुकुरे र आसपासका बस्तीहरू खानेपानीको चरम अभावका कारण रित्तिन थालेका छन्। गाउँमा सडक र विद्युत् जस्ता भौतिक पूर्वाधारको विकास पुगे पनि पानीको स्रोत सुक्दै गएपछि स्थानीय बासिन्दा थातथलो छाडेर बसाइँ सर्न बाध्य भएका हुन् । कुनै समय बाक्लो बस्ती रहेको ढुकुरे डाँडागाउँमा अहिले आधाभन्दा बढी घर खाली भइसकेका छन्। स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अनुसार ६० भन्दा बढी परिवारको बसोबास रहेको ढुकुरेमा हाल २५ परिवार मात्र बाँकी छन्। “सडक कालोपत्रे भइरहेको छ, बिजुलीको सबस्टेसन गाउँमै छ, तर पिउने पानी नभएपछि मान्छे बस्न सक्ने अवस्था रहेन,” कार्कीले भन्नुभयो । वि.सं. २०७४ यता यस क्षेत्रमा पर्याप्त वर्षा नभएको र पुराना मुहानहरू समेत सुकेकाले जनजीवन कष्टकर बनेको छ ।

तमोर करिडोर सडकखण्डअन्तर्गत लखुवा दोभानदेखि मौवा बजारसम्मको सडक धमाधम कालोपत्रे हुँदैछ। गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् समेत पुगिसकेको छ। यद्यपि, आधारभूत आवश्यकताका रूपमा रहेको खानेपानीको अभावले खेतीयोग्य जमिन बाँझो भई झाडीमा परिणत हुन थालेका छन्। ढुकुरे तल्लो गाउँ र डाँडागाउँ क्षेत्रबाट मात्रै १७ भन्दा बढी परिवार बसाइँ सरिसकेका छन् ।

बसाइँ सरेर पसलटार पुग्नुभएका लीला दाहालले पानीको हाहाकार भएपछि विकल्प खोज्नुपरेको दुखेसो पोख्नुभयो। यस्तै, तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्कीले महँगो शुल्क तिरेर ट्र्याक्टरमार्फत खोलाको पानी किनेर गुजारा चलाउनुपरेको पीडा सुनाउनुभयो ।

स्थानीयको बसाइँसराइ रोक्न करोडौँको लगानीमा ‘आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना’ निर्माण गरिएको थियो। तर, उक्त आयोजना प्रभावकारी हुन सकेको छैन। स्थानीय कुलबहादुर तामाङका अनुसार गत स्थानीय तहको निर्वाचनअघि नै आयोजनाको उद्घाटन भए पनि हालसम्म धारामा पानी आएको छैन । चार ठाउँबाट पम्पिङ गरेर पानी ल्याउनुपर्ने प्राविधिक जटिलता, विद्युत् अवरोध र मेसिन बिग्रने समस्याका कारण आयोजना अलपत्र जस्तै बनेको छ। आयोजनाको पाइपलाइन विस्तार भए पनि उपभोक्ताका धारा अझै सुक्खा छन् ।

आङ्ना मौवा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवानले तमोर नदीको बगरमा नयाँ ‘सम्पवेल’ निर्माण गरिएकाले पम्पिङको काम सहज हुने दाबी गर्नुभयो। यद्यपि, मर्मतसम्भार र संरचना निर्माणका लागि समितिसँग बजेट नहुँदा वितरण कार्यमा ढिलाइ भएको उहाँको भनाइ छ। “गाउँपालिकाले बजेट छुट्याएको जानकारी आएको छ, बजेट निकासा हुनासाथ वितरणको समस्या समाधान हुनेछ,” देवानले भन्नुभयो ।

खानेपानीको समस्या तत्काल समाधान नगरिए निकट भविष्यमै सिङ्गो बस्ती मानवविहीन हुने खतरा बढेको भन्दै स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।