चितवनमा चैते धान रोपाइँमा आधुनिक प्रविधिको प्रयोग : लागत घट्ने भएपछि मेसिनतर्फ किसानको आकर्षण

काठमाडौँ, फागुन २९ । चितवनमा चैते धान रोपाइँको सिजन सुरु भएसँगै खेतीमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा रोपाहार प्रयोग गरेर धान रोप्ने चलनको विकल्पमा पछिल्ला वर्षहरूमा ‘ट्रान्सप्लान्टर’ मेसिनको प्रयोगप्रति किसानहरूको आकर्षण बढेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार जिल्लामा कृषि यान्त्रिकीकरणले व्यावसायिक रूप लिन थालेको छ। कृषि अधिकृत काशीराम पाण्डेका अनुसार सुरुका वर्षहरूमा मेसिनको प्रयोग र नर्सरी राख्ने विधि सिकाउन कठिन भए पनि अहिले किसानहरू आफैँले मेसिन खोज्न थालेका छन्। “खेतीमा मेसिनको प्रयोग गर्दा उत्पादन लागत ३० देखि ४० प्रतिशतसम्म घटाउन सकिन्छ,” पाण्डेले भन्नुभयो, “लागत घट्ने र उत्पादन बढ्ने भएपछि किसानहरू यसतर्फ उत्साहित भएका हुन् ।”

मेसिनबाट हुने फाइदा र विस्तार
मेसिनको प्रयोगबाट धान रोप्दा श्रम र समयको बचत मात्र नभई बीउको परिमाणमा समेत ठूलो बचत हुने देखिएको छ। परम्परागत तरिकाले एक कठ्ठामा रोप्न करिब दुई किलो बीउ लाग्नेमा मेसिनबाट रोप्दा मात्र ५०० ग्राम बीउले पुग्ने प्राविधिकहरूको भनाइ छ ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ देखि चारपाङ्ग्रे मेसिनबाट धान रोप्न सुरु गरिएको थियो। गत वर्ष ३०० हेक्टर क्षेत्रफलमा मेसिनबाट रोपाइँ गरिएकोमा यस वर्ष ९८ हेक्टर थप भई कार्यक्षेत्र विस्तार भएको छ। हाल जिल्लामा १३ वटा यस्ता मेसिनहरू सञ्चालनमा छन्। सरकारले यसै वर्ष मात्र किसानहरूलाई ६ वटा मेसिन खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

किसानको अनुभव
भरतपुर महानगरपालिका–६ देवनगरका किसान प्रकाश श्रेष्ठले यस वर्ष पहिलोपटक चार बिघा क्षेत्रफलमा मेसिनबाट रोपाइँ गर्नुभएको छ। सामाजिक सञ्जाल र अन्य माध्यमबाट जानकारी लिएर प्रविधिको प्रयोग सुरु गर्नुभएका श्रेष्ठले मेसिनबाट रोप्दा ज्याला खर्च निकै कम लागेको बताउनुभयो। मेसिनका लागि प्लास्टिकको ट्रेमा विशेष तरिकाले बेर्ना तयार गर्नुपर्ने प्राविधिक पक्ष रहेको उहाँको अनुभव छ ।

चितवनमा वार्षिक रूपमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ। जिल्लामा सञ्चालित ‘धान जोन’ कार्यक्रमका कारण कमान्ड क्षेत्रभन्दा बाहिरका किसानहरूले समेत मेसिनरी सेवा र अनुदानको प्रत्यक्ष लाभ लिन थालेका छन्। यसले नेपालको कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यावसायिक र आधुनिक बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।